मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) नेपाल सरकार तथा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को ६९.७ करोड अमेरिकी डलर संयुक्त लगानीमा सञ्चालन भइरहेको पूर्वाधार आयोजनाहरूको व्यवस्थापनका लागि विकास समिति ऐन–२०१३ अनुसार अर्थ मन्त्रालय अन्तर्गत गठन गरिएको एक सरकारी निकाय हो। यस कार्यक्रममा अमेरिकी सरकारको एमसीसी कम्प्याक्ट कोषको ५० करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७ करोड अमेरिकी डलर लगानी रहेको छ। यस कार्यक्रमको उद्देश्य आर्थिक वृद्धिमा तीव्रता ल्याउन बिजुलीको उपलब्धता र भरपर्दोपनामा वृद्धि गर्नु, सडकको गुणस्तर कायम राख्नु तथा नेपाल र यस क्षेत्रको ऊर्जा व्यापारलाई सहजीकरण गर्नु हो। यस कार्यक्रम अन्तर्गत राष्ट्रिय गौरवको विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजना गरी दुईवटा आयोजना छन्।
कैयौँ वर्षको तयारीपछि नेपाल तथा एमसीसीबीच विसं २०७४ भदौ २९ गते नेपाल कम्प्याक्ट सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौतामा संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीस्थित अमेरिकी विदेश मन्त्रालयमा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की तथा एमसीसीका कामु प्रमुख कार्यकारी अधिकृत जोनाथन नाशले हस्ताक्षर गर्नुभएको थियो । एमसीसी कम्प्याक्टले बिजुलीको उपलब्धता तथा गुणस्तरमा वृद्धि तथा यातायात लागतमा न्यूनीकरणमार्फत लगानी आकर्षित गर्ने, आर्थिक वृद्धिलाई तीव्रता दिने तथा गरिबी न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । सञ्चालन गर्न लागिएका विद्युत् प्रसारण लाइन तथा सडक मर्मतसम्भारसम्बन्धी दुई वटा आयोजना नेपाली नागरिक समाज, निजी क्षेत्र तथा अन्य कैयौँ सरोकारवालासँगको विस्तृत परामर्शका माध्यमबाट पहिचान गरिएका प्राथमिकता हुन् । एमसीसी कम्प्याक्ट नेपाललाई प्राप्त भएको मात्र एउटा अर्को अनुदान होइन – यस अनुदान प्राप्त गर्नका लागि नेपालले अन्य राष्ट्रहरूसँग प्रतिस्पर्द्धा गरी आफूलाई योग्य प्रमाणित गर्नुपरेको थियो र त्यसपछि सुशासन, आर्थिक स्वतन्त्रता, नागरिकका लागि लगानी तथा सम्बन्धित अन्य सूचकहरूसम्बन्धी एमसीसीका शर्तहरू सफलतापूर्वक पूरा गरी एमसीसी कम्प्याक्टका लागि चयन भएको थियो । एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका आयोजनाहरूको नेतृत्व तथा कार्यान्वयन मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का करिब ६० कर्मचारीहरूसहित नेपालीहरूबाटै हुन लागेको छ । एमसीसी नेपाल कम्प्याक्ट सम्झौताबारे थप अध्ययन गर्नुहोस् :
नेपाल सरकार तथा अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच सम्पन्न ‘एमसीसी नेपाल कम्प्याक्ट’ सम्झौता र यस अन्तर्गत प्रस्ताव गरिएका आयोजनाबारे सर्वसाधारणलाई सुसूचित गराउनका लागि यस पुस्तिकामा प्रश्नोत्तर शैलीमा महत्वपूर्ण जानकारी प्रस्तुत गरिएको छ । एमसीसी नेपाल कम्प्याक्ट सम्झौताबारे थप अध्ययन गर्नुहोस् :
एमसीसी नेपाल कम्प्याक्टबारे सर्वसाधारणबीच सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट फैलाइएका भ्रमबारे स्पष्ट गर्ने यथार्थ जानकारी यस सामग्रीमा समेटिएको छ ।
एमसीसी नेपाल कम्प्याक्टबारे सर्वसाधारणबीच देखिएका जिज्ञासालाई सरल र सङ्क्षिप्त प्रश्नोत्तर शैलीमा सम्बोधन गर्ने प्रयास यस सामग्रीमा गरिएको छ।
एमसिए–नेपालले २०८० साल भदौ १३ गते कार्यान्वयन सुरु भएको एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनका क्रममा निम्नाअनुसारका पदहरूका लागि आवेदन आह्वान गरेको छ।