वैदेशिक रोजगारीदेखि स्वरोजगारीसम्मको राजुको यात्रा

हरेक युवाजस्तै २९ वर्षीय राजु श्रेष्ठको पनि श्रीमती, दुई छोरी र एक छोरा सहितको आफ्नो पाँचजनाको परिवारको जीवनस्तर उकास्ने सपना थियो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित खाल्टेका राजु जीविकोपार्जनका लागि मलेसियामा जानुभयो तर त्यहाँ लामो समयसम्म टिक्न भने उहाँ सक्नुभएन।

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे सबस्टेशनका लागि जग्गा अधिग्रहण गर्दा राजुको जग्गा पनि अधिग्रहणका लागि तोकिएको क्षेत्रमा पर्‍यो र राजु र उहाँको परिवार त्यहाँबाट स्थानान्तरण हुनुपर्‍यो। एमसिए–नेपालले कानुनी रूपमा राजुको बुबाको नाममा रहेको २० रोपनी जग्गा अधिग्रहण गरेको थियो। यसका लागि राजुको बुबालाई उचित मुआब्जा प्रदान गरिएको थियो।

उक्त मुआब्जा रकमबाट राजुको बुबाले उहाँलाई केही रकम प्रदान गर्नुभयो। बुबाबाट प्राप्त रकमबाट राजुले राजमार्गको छेउमा एउटा घर बनाउनुभयो। आफ्नो घर भएको स्थानको सम्भाव्यतालाई दृष्टिगत गर्दै उहाँले घरमै सानो रेस्टुरेण्ट खोल्ने निर्णय गर्नुभयो। सोही समयमा एमसिए–नेपालले पनि आयोजना प्रभावित व्यक्तिहरूको जीविकोपार्जन पुनःस्थापनाका लागि जीविकोपार्जन पुनःस्थापना कार्यक्रम शुरु गर्‍यो। सीप विकासको अवसर छनोटका लागि आयोजित परामर्श कार्यक्रममा राजुले आफ्नो रेस्टुरेण्ट व्यवसायमा टेवा पुर्‍याउने उद्देश्यले कुकको प्रशिक्षण लिने विकल्प रोज्नुभयो। त्यसपछि उहाँ दुई महिना लामो मिठाइ तथा खाजा बनाउने तालिममा सहभागी हुनुभयो।

तालिममा प्राप्त नयाँ ज्ञान र सीपसँगै राजुले आफ्नो रेस्टुरेण्टको मेनुमा समोसा, मोमो, पकौडा र विभिन्न मिठाइ जस्ता स्वादिस्ट मिठाइ र खाजाका परिकारहरू थप्नुभयो। उहाँको परिकारको स्वाद स्थानीय समुदायले खुब मन पराए। आमाको मुख हेर्ने दिन करिब १० किलो जेरी र अन्य मिठाइ बिक्री गरी एकै दिनमा झण्डै १० हजार रुपैयाँ कमाउँदा आफ्नो कडा परिश्रमले उचित मूल्य पाएको अनुभव उहाँले गर्नुभयो।

शुरुवातका दिनहरूमा प्राप्त सफलतासँगै राजुले अन्य चाडपर्वमा पनि मिठाइ तयार गरी बिक्री गर्ने सोच बनाउनुभएको छ। चाडपर्वहरूमा उहाँका उत्पादनको बढ्दो मागले उहाँलाई भविष्यमा आफ्नो व्यापार अझै बढाउने अवसर दिएको छ। हाल उहाँको रेस्टुरेण्टमा दैनिक तीन हजारदेखि साढे तीन हजार रुपैयाँसम्मको व्यापार भइरहेको छ। राजुले आफ्नो व्यवसाय विस्तार गर्दै रेस्टुरेण्टको मेनुमा स्वादिस्ट परिकारहरू थप गर्ने योजना बनाउनुभएको छ।

जीविकोपार्जन पुनःस्थापना कार्यक्रमबाट प्राप्त सहयोगप्रति राजु कृतज्ञ हुनुहुन्छ। उहाँले प्राप्त गर्नुभएको तालिमबाट उहाँको पाककला परिष्कृत मात्रै भएको नभई उहाँलाई यही क्षेत्रमा उद्यमशील बन्ने आत्मविश्वास पनि प्राप्त भएको छ। आयोजना प्रभावित व्यक्तिदेखि सफल व्यवसायीसम्मको राजुको यात्रा उहाँको कडा परिश्रम र जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत उपलब्ध सहयोग र अवसरको रूपान्तरणकारी ऊर्जाको प्रतिविम्ब हो।

एमसिए–नेपालले आफ्नो परामर्शदाता सप्रोस नेपालमार्फत दुई वर्षका लागि सञ्चालन गरिरहेको जीविकोपार्जनसम्बन्धी क्रियाकलापहरू आयोजना प्रभावित व्यक्तिहरूकै स्वत्नत्र छनोट हुन्। हाल २७२ जना आयोजना प्रभावित लाभान्वित भइरहनुभएको छ। उहाँहरूमध्ये १०८ जना कृषि र पशुपालन क्रियाकलापमा आवद्ध हुनुभएको छ भने बाँकी १६४ जनालाई विभिन्न १८ किसिमका व्यावसायिक तथा सीप विकास तालिम उपलब्ध गराइएको छ। अन्तरराष्ट्रिय मापदण्ड अनुरूप तयार गरिएको पुनर्वास कार्ययोजनाको अभिन्न अङ्गका रूपमा रहेको यस कार्यक्रमले आयोजनाबाट भौतिक तथा आर्थिक रूपमा विस्थापित स्थानीय वासिन्दाहरूको जीविकोपार्जनमा सुधार सुनिश्चित गर्दछ।