एमसिए–नेपाल विद्युत् प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रिया अगाडि बढाउँदै

एमसिए–नेपाल एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजना अन्तर्गत प्रसारण लाइन पूर्वाधार निर्माण कार्यसम्बन्धी पुनःबोलपत्र आह्वान कार्यलाई सफल गर्नका लागि अर्थ मन्त्रालय, मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) र आफ्नो सञ्चालक समितिसँग निकटतापूर्वक काम गरिरहेको छ ।

पारदर्शिता र वित्तीय उत्तरदायित्वप्रतिको आफ्नो प्रतिबद्धता अनुरूप एमसिए–नेपालले आफ्नो खरिद प्रक्रिया तथा मापदण्डको विस्तृत मार्गनिर्देशिकाका साथै हालै गरिएको प्रसारण लाइनसम्बन्धी खरिद प्रक्रियाको नतिजा सार्वजनिक गरिसकेको छ । प्राप्त बोलपत्रहरूको वित्तीय प्रस्ताव २०८० भदौमा खोल्दा यस कार्यका लागि अनुमानित बजेटभन्दा बोलपत्रहरूमा उल्लेख गरिएको मूल्य धेरै बढी भएको निष्कर्षमा एमसिए–नेपाल पुगेको थियो । प्रसारण लाइनका लागि पुनःबोलपत्रको आह्वान समयमै गराउनका लागि एमसिए–नेपालले प्रस्तुत गरिएका बोलपत्रहरू लागतका आधारमा अस्वीकृत गरिएकोसम्बन्धी निर्णय सम्बन्धित बोलपत्रदाताहरूलाई तुरुन्तै जानकारी गराएको थियो ।

एमसिए–नेपाल अर्थ मन्त्रालय अन्तर्गत गठन गरिएको कम्प्याक्ट कार्यान्वयनका लागि जिम्मेवार नेपाल सरकारको निकाय हो । सार्वजनिक कोषको जिम्मेवार परिचालकका रूपमा एमसिए–नेपालले कम्प्याक्ट अन्तर्गत विनियोजन गरिएका साधनस्रोत देशलाई अधिकतम लाभ पुग्ने गरी परिचालन हुने कुरा सुनिश्चित गर्दछ ।

विद्युत् प्रसारण आयोजनाको कार्यान्वयन सकेसम्म छिटो गरिहाल्नुपर्ने अत्यावश्यकताबारे एमसिए–नेपाल सजग छ र यसले पुनःबोलपत्र आह्वानसम्बन्धी जटिल प्राविधिक, सामाजिक जिम्मेवारी तथा कानुनी पक्षहरू सम्बोधन गर्नुका साथै खरिद प्रक्रियालाई तीव्रता दिनका लागि सम्पूर्ण सम्भव उपायहरू पहिल्याउनका लागि अर्थ मन्त्रालय, आफ्नो सञ्चालक समिति तथा एमसीसीसँग निकटतापूर्वक सक्रियता अपनाइरहेको छ ।

एमसिए–नेपाल विद्युत् प्रसारण लाइन निर्धारित समय र बजेटमै आफ्नो र एमसीसीको वातावरणीय तथा सामाजिक मापदण्ड अनुसार निर्माण हुने सुनिश्चित गर्न र आगामी कदमबारे निर्णय हुनेबित्तिकै त्यसबारे जानकारी सार्वजनिक गर्न प्रतिबद्ध छ ।