सडक मर्मत आयोजना

सडकको खराब अवस्था, न्यून प्रभावशाली ढुवानी सेवा तथा अपर्याप्त सडकका कारण नेपालको व्यापार व्यवसायले उच्च लागत खर्च व्यहोर्नु परिरहेको छ । नियमित सडक मर्मतसम्भारका लागि पर्याप्त स्रोत उपलब्ध छैन भने यसका लागि प्रयोग गरिने विधि पनि अन्तरराष्ट्रिय सर्वोत्कृष्ट अभ्यास अनुरूप छैनन् ।
पाँच करोड ४९ लाख अमेरिकी डलरको लगानीमा सञ्चालन गर्न लागिएको सडक मर्मत आयोजनाको उद्देश्य सडक विभाग तथा सडक बोर्ड नेपालको निर्माण क्षमता अभिवृद्धिका लागि प्राविधिक सहयोग, बढीमा १३० किमि रणनैतिक सडक सञ्जालको मर्मत सम्भार तथा नेपालको सडक मर्मत बजेट विस्तारलाई प्रोत्साहन गर्न मिलान कोष (म्याचिङ फण्ड) को व्यवस्थामार्फत नेपालको रणनैतिक सडक सञ्जालको गुणस्तरमा सुधार गर्नु रहेको छ ।
सडक मर्मत आयोजनाले नेपाल सरकार तथा एमसीसीका नीतिहरूको पालना गर्नुका साथै विद्यमान अन्तरराष्ट्रिय प्राविधिक, वातावरणीय तथा सामाजिक मापदण्डहरू तथा सर्वोत्कृष्ट अभ्यासहरूलाई पनि ध्यानमा राख्नेछ । यस आयोजनाका दुई प्रमुख क्रियाकलाप प्राविधिक सहयोग र रणनैतिक सडक सञ्जालको मर्मतसम्भार हुन् ।

प्राविधिक सहयोग

यस आयोजना अन्तर्गत उपलब्ध गराइने प्राविधिक सहयोगले सडक मर्मतसम्भारसम्बन्धी योजना तर्जुमा, मूल्याङ्कन तथा नियमित एवं आवधिक मर्मतसम्भार कार्य कार्यान्वयनसम्बन्धी सडक विभाग तथा सडक बोर्ड नेपालको क्षमता अभिवृद्धि गर्नेछ ।

रणनैतिक सडक मर्मत कार्य

रणनैतिक सडक मर्मत कार्य प्राविधिक सहायताको पूरक कार्यका रूपमा रहनेछ र यसलाई सोही आधारमा अगाडि बढाइनेछ । यस अन्तर्गत निम्नलिखित कार्य सञ्चालन गरिनेछ :
पेभमेण्ट रिसाइक्लिङ : सडक मर्मत आयोजनाले विशेष रूपमा फूल डेप्थ रिक्लेमेसन र सुपेरियर पर्फर्मिङ आस्फाल्ट पेभमेण्ट (सुपरपेभ) जस्ता नयाँ प्रविधिहरूलाई नेपालमा पहिलो पटक प्रयोग गर्नेछ । प्रयोग गरिने नयाँ प्रविधि सवारीको चाप बढी भएका, काम गर्न कठिन एवं निर्माण कार्यका लागि लामो समय लाग्ने जस्ता साँघुरा सडकमा काम गर्दा आइपर्ने केही समस्यालाई सम्बोधन गर्ने क्षमता राख्दछन् । कम्प्याक्ट कार्यान्वयनमा प्रवेश गर्नुपूर्व यो प्रविधिको परीक्षण गरिएको सुनिश्चित गर्न आयोजना तयारीको एक अंशका रूपमा प्रविधिको परीक्षण र मूल्याङ्कन गरिनेछ। ती परीक्षणका नतिजासम्बन्धी जानकारीलाई नियोजित रणनैतिक सडक मर्मत कार्यको कार्यक्रम डिजाइन गर्नमा प्रयोग गरिनेछ ।
मिलान कोष (म्याचिङ फण्ड) : नेपाल सरकारले आवधिक सडक मर्मतसम्भार कार्यमा हाल खर्च गरिरहेको औसत वार्षिक बजेट बाहेक एक अमेरिकी डलर खर्च गरेमा दुई अमेरिकी डलर उपलब्ध गराउने गरी एउटा मिलान कोष (म्याचिङ फण्ड) को स्थापना पनि एमसीसी कोषले गर्नेछ । यस अन्तर्गत तीन वर्षका अवधिमा बढीमा कुल चार करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराइनेछ । सडक मर्मतसम्भारमा नेपाल सरकारलाई थप खर्च गराउन प्रोत्साहित गराउनका लागि यो मिलान कोष उपयोग गरिनेछ ।