आयोजना क्षेत्र

विद्युत् प्रसारण आयोजना

प्रसारण लाइन १० जिल्लाका ३० नगरपालिका भएर जानेछ । प्रसारण लाइन मार्गसम्बन्धी अध्ययन जारी नै रहेको छ भने यससम्बन्धी पछिल्लो अध्ययनका अनुसार प्रसारण लाइन करिब ३१५ किमि लामो हुनेछ र ८५६ वटा टावर निर्माण गर्नुपर्नेछ । प्रसारण लाइन काठमाडौँ, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, पाल्पा, नवलपुर र परासी जिल्ला भएर जानेछ । घना जनघनत्व भएका क्षेत्रहरू, ऐतिहासिक वनहरू, सांस्कृतिक स्मारकहरू तथा वातावरणीय रूपमा क्षति पुगी नसकेका क्षेत्रलाई प्रसारण लाइनले नछुने गरी यसको डिजाइन गरिएको छ । यसैगरी यसको डिजाइन गर्दा चरा उडान तथा आप्रवास मार्गमा अवरोध सिर्जना नहोस् भन्ने तथ्यलाई पनि विचार गरिएको छ भने यसमा रहने तारहरूलाई पनि उडान गरिरहेका चराहरूको पखेटाले नछुने गरी आरपार गर्न सकिने किसिमबाट अन्तर राखी तानिनेछ । आयोजनाले नुवाकोटको रातमाटे, तनहुँको नयाँ दमौलि र रूपन्देहीको नयाँ बुटवलमा गरी तीन वटा सब–स्टेशन निर्माण गर्नेछ ।

सडक मर्मत आयोजना

एमसिए–नेपालले सडक विभागसँग परामर्श गरी एमसीसी अनुदान कार्यान्वयनका क्रममा काम गरिने सडक खण्डहरूको छनोट गरेको छ । सडक मर्मत आयोजनाले प्रथम चरणमा परीक्षणका रूपमा पूर्व–पश्चिम राजमार्गको धानखोला – लमही (करिब ४० किमि) सडक खण्डको मर्मतसम्भार कार्य गर्नेछ । उक्त परीक्षण कार्यको सफल कार्यान्वयनपछि सोही प्रविधि प्रयोग गरेर उक्त राजमार्गको लमही – शिवखोला खण्ड (३७ किमि) को मर्मत कार्य अगाडि बढाइनेछ । यी सडक खण्ड अर्घाखाँची र दाङ्ग जिल्लामा पर्दछन् ।