ममताको यात्रा : गृहस्थीदेखि व्यवसायीसम्म

तेईस वर्षीया श्रीमती ममता लामाको अधिकांश समय आफ्नी दुई वर्षीया छोरी एवं परिवारका अन्य सदस्यको स्याहारसुसार गर्दै घरधन्दामै बित्ने गर्थ्यो। नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित रातमाटेमा उहाँको परिवारको १.७ रोपनी जग्गा थियो। अहिले उक्त जग्गा एमसिए–नेपालले आफ्नो विद्युत् प्रसारण आयोजना अन्तर्गत रातमाटे विद्युत् सबस्टेशन बनाउनका लागि अधिग्रहण गरिसकेको छ। जग्गा प्राप्ति ऐन, २०३४ अनुसार एमसिए–नेपालले दिएको मुआब्जा रकम बुझेको केही समयमै उनको परिवार अन्यत्र सर्नुपर्‍यो।

आयोजना प्रभावित व्यक्तिहरूका लागि एमसिए–नेपालले तयार गरेको पुनर्वास कार्ययोजनाको एक अंशका रूपमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सामाजिक तथा आर्थिक रूपमा विस्थापित व्यक्तिहरूको जीविकोपार्जन तथा आयस्रोत पुनःस्थापना गर्नका लागि कार्यान्वयन गर्न थालिएको थियो। उक्त कार्यक्रमको उद्देश्य हासिल गर्नका लागि आयोजना प्रभावित व्यक्तिहरूले चाहेको किसिमको प्रशिक्षण पहिचान गर्नका लागि उक्त कार्यक्रम अन्तर्गत घरदैलो सर्वेक्षण गरिएको थियो।

श्रीमती ममता पनि पुतली तथा चकटी बनाउने तालिम छनोट गरेर उक्त कार्यक्रममा सहभागी हुनुभयो।

“पुतली तथा कुसन बनाउने तालिममा सहभागी हुने अवसरमा मैले मेरो सीप अभिवृद्धि गर्नुका साथै मेरो आयमा वृद्धि गर्ने आशाको किरण देखेँ”, उहाँले भन्नुभयो, “यो तालिम लिएपछि आफ्नो अनुकूल समयमा घरमै बसी सानो लगानीमै पनि आफ्नै व्यवसाय सञ्चालन गर्नसक्ने सम्भावना देखेँ। त्यसैले मैले यही तालिम रोजेँ।”

उक्त प्रशिक्षण सफलतापूर्वक पूरा गरेपछि र अतिरिक्त सहयोग पनि पाएपछि श्रीमती ममताले केही कच्चा पदार्थ किन्नुभयो र आफैले पुतली र कुसन बनाउन थाल्नुभयो।
स्थानीय बजारमा आफ्नो उत्पादन बिक्री गरेर उहाँले करिब दुई हजार रूपैयाँ कमाइसक्नुभएको छ। उहाँ आफ्नो प्रगतिमा खुशी हुनुहुन्छ र आफ्नो व्यवसायलाई अझ विस्तार गर्ने निर्क्योलमा पुगिसक्नुभएको छ। उहाँले भन्नुभयो, “तालिमबाट सिकेको सीपबाट सामग्रीहरू उत्पादन गरी व्यवसायी बन्नका लागि मैले बजारको अध्ययन पनि गरिसकेको छु।”

आफ्ना दुई जना साथीलाई लिएर उहाँ सम्भावित ग्राहकहरूकहाँ गई करिब १५० वटा साना भालु पुतलीको अर्डर लिइसक्नुभएको छ। उहाँ साथीहरूसँग मिलेर उक्त अर्डर पूरा गर्नका लागि पुतली बनाउँदै हुनुहुन्छ।

श्रीमती लामा आफूले गरेको प्रगतिका कारण रोमाञ्चित हुनुहुन्छ र आफ्नो व्यवसायलाई अझ उकास्न चाहनुहुन्छ। उहाँले आफ्नो कमाइ आफ्नो व्यवसायलाई विस्तार गर्नमै लगानी गर्ने योजना बनाउनुभएको छ। उहाँले थप्नुभयो, “यस कार्यमा थप अनुभवी भएपछि भविष्यमा मैले यो सीप अरुलाई पनि दिन पाएँ भने मलाई खुशी लाग्नेछ।”

श्रीमती ममता आफूलाई नयाँ सीप सिकाएर व्यवसायी बन्ने अवसर प्रदान गरेकोमा एमसिए–नेपालप्रति निकै आभारी हुनुहुन्छ।

श्रीमती ममताका अतिरिक्त आयोजनाबाट प्रभावित अन्य आठ जना महिलाले पनि पुतली तथा कुसन बनाउने तालिम लिनुभएको छ। प्रशिक्षित सबै महिला अहिले श्रीमती ममताले जस्तै व्यवसाय सञ्चालन गर्ने सम्भावनाको खोजीमा हुनुहुन्छ। जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको टोलीले उहाँहरूलाई व्यवसाय सञ्चालन गर्नका लागि नियमित रूपमा सहयोग गर्दैछ।