तरकारी उत्पादकका रूपमा रामप्यारीको यात्रा

एमसिए–नेपालले रातमाटेमा विद्युत् सबस्टेशन निर्माणका लागि आफ्नो जमिन लिन लागेको छ भन्ने सुन्दा रातमाटेमा गरिएको जग्गा अधिग्रहणबाट प्रभावित नुवाकोटको रातमाटेका अन्य स्थानीय वासिन्दाहरू जस्तै श्रीमती रामप्यारी राई र उहाँको परिवार पनि दुःखी भएको थियो।

तर जग्गा प्राप्ति प्रक्रिया सम्पन्न भएपछि भने उहाँहरूको अनुभव पूरै फरक रह्यो।

“हाम्रो परिवारले लामो समयदेखि खेती गरिरहेको जमिन बेच्नुपर्दा मलाई निक्कै दुःख लागेको थियो । पछि हामीले एमसिए–नेपालले क्षतिपूर्ति रकम मात्र नभई एमसिए–नेपालबाट जीविकोपार्जन पुनःस्थापनाका लागि हामीले छाने अनुसारको सहयोग पनि पायौँ”, श्रीमती राईले भन्नुभयो ।

आयोजनाबाट प्रभावित व्यक्तिका रूपमा श्रीमती राईलाई आफैले छानेर एमसिए–नेपालको परामर्शदाता सप्रोस नेपालद्वारा रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत सञ्चालित चार दिने व्यावसायिक तरकारी खेती तालिममा सहभागी हुने अवसर प्रदान गरिएको थियो ।

“म उक्त प्रशिक्षणमा सक्रियतापूर्वक सहभागी भएँ र नर्सरी व्यवस्थापन, माटो उपचार तथा पोषणहरू, मौसमी एवं बेमौसमी बालीहरू लगाउने समयतालिका, प्लाष्टिक टनेल घर निर्माण तथा पानी किफायती प्रविधिको प्रयोग जस्ता आधारभूत सीपहरू सिकेँ”, उहाँले भन्नुभयो । उक्त प्रशिक्षण तरकारी उत्पादनका क्रममा नवीन कम लागतकारी एवं जलवायुमैत्री प्रविधिको प्रयोगमा केन्द्रित रहेको थियो ।

यसका अतिरिक्त, कार्यक्रमको सहयोगबाट उहाँले आफ्नै जग्गामा काउली र बन्दाको नर्सरी स्थापना गर्नुभएको छ र उक्त प्रशिक्षणबाट हासिल गरेका सीप एवं ज्ञानका आधारमा तरकारीका विरुवाहरूको स्याहार गरिरहनुभएको छ ।

उहाँले मुस्कुराउँदै सहयोग प्रक्रियाबारे थप प्रकाश पार्नुभयो, “सप्रोस नेपालका प्रतिनिधिहरू जीविकोपार्जनका लागि अपनाउने माध्यमको छनोटबारे म र मेरो परिवारसँग सल्लाह गर्न हाम्रो आँगनमै आउनुभएको थियो र हाम्रो जीविकोपार्जनमा सुधार गर्नका लागि सहयोग उपलब्ध गराउने प्रस्ताव राख्नुभएको थियो । उहाँहरूले हाम्रो खेत व्यावसायिक तरकारी खेतीका लागि उपयुक्त भएको सुझाव दिनुभयो । उहाँहरूले हाम्रो खेतलाई निक्कै राम्ररी उपयोग गर्नका लागि व्यावसायिक तरकारी खेतीसम्बन्धी प्रशिक्षणमा सहभागी हुन प्रोत्साहित पनि गर्नुभयो ।”
प्रशिक्षणपछि पनि उक्त कार्यक्रमले उहाँलाई तरकारी खेतीलाई स्वस्थ बनाउनका लागि सहयोग उपलब्ध गराइरहेको छ । तरकारी खेती तथा जलवायुमैत्री सिँचाइ प्रविधि (थोपा सिँचाइ) का लागि प्लाष्टिक टनेल घर निर्माण गर्नका लागि उहाँलाई सामग्री प्रदान गरिनुका साथै तरिका पनि सिकाइएको थियो ।

गरिबीका कारण कहिल्यै विद्यालयको मुख देख्न नपाउनुभएकी र क्षमता विकाससम्बन्धी चेतनाको अभावका कारण हालसालै लिनुभएको जस्तो प्रशिक्षणबाट विगतमा लाभान्वित नहुनुभएकी श्रीमती राई अहिले तरकारी उत्पादक बन्ने यात्रा थाल्न सफल हुनुभएको छ ।

उहाँ भन्नुहुन्छ, “मेरो खेती व्यवसायका रूपमा म तरकारी खेतीलाई अगाडि बढाउनेछु भन्ने कुरामा म ढुक्क छु । हाम्रो जीविकोपार्जन पुनःस्थापना गर्नका लागि हामीलाई सहयोग उपलब्ध गराएकोमा म एमसिए–नेपालप्रति आभारी छु ।”