व्यावसायिक तरकारी कृषक बन्दै विन्दमाया लामा

नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ७ को नन्दुटारकी श्रीमती विन्दमाया लामा रातमाटे सबस्टेशन निर्माणका लागि आफ्नो ११ आना (३३४.७५ वर्ग मिटर) जग्गा एमसिए–नेपालले अधिग्रहण गर्दा प्रारम्भिक रूपमा आफ्नो भविष्यबारे अन्योलमा पर्नुभएको थियो। अहिले भने उहाँ भिन्नै अनुभूति गरिरहनुभएको छ। आफ्नो जीवनमा सकारात्मक
परिवर्तन आउन लागेको उहाँलाई लाग्न थालेको छ।

“एमसिए–नेपालले हाम्रो पारिवारिक जमिन लिएपछि हामीले जीविकोपार्जनका लागि के गर्ने होला भन्ने सोच्न समेत सकेकी थिइनँ । हामी त्यो जमिनमा धान तथा अन्य अन्न उमार्ने गर्थ्यौँ र हाम्रो परिवारका लागि कमाइ गर्ने माध्यम त्यही एउटा थियो”, श्रीमती लामाले भन्नुभयो, “तर अहिले म खुशी छु किनभने त्यो जमिन अधिग्रहणमा परेबापत हामीले मुआब्जा पाउनुका अतिरिक्त एमसिए–नेपालको जीविकोपार्जन पुनःस्थापना कार्यक्रमले हामीलाई जीविकोपार्जन सीपहरू प्रदान गरेर पनि सहयोग गरिरहेको छ।”

विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको रातमाटे सबस्टेशनबाट प्रभावित श्रीमती लामा एमसिए–नेपालको परामर्शदाता सप्रोस नेपालले नुवाकोटमा सञ्चालन गरिरहेको व्यावसायिक बेमौसमी तरकारी खेती तालिमबाट लाभान्वित हुनुभएको छ।

“उक्त तालिममा सहभागी हुन पाएकोमा म निकै खुशी छु। व्यावसायिक बेमौसमी तरकारी खेतीसम्बन्धी नयाँ नयाँ सीप तथा प्रविधि हामीलाई सिकाइएको छ। हामीलाई काउली, बन्दा, खुर्सानी तथा चारै मौसममा लगाउन सकिने सिमिको बिउ पनि दिइएको छ।”

उहाँले अगाडि थप्नुभयो, “हामीले हाम्रो घर नजिकै साढे चार आना (१४०.६ वर्ग मिटर) जग्गा भाडामा लिएर व्यावसायिक तरकारी खेती शुरु पनि गरिसकेका छौँ।”

उहाँ हिजो आज तालिममा सिकेका ज्ञान तथा सीप उपयोग गरेर दिनहुँ विभिन्न तरकारीका करिब एक हजार विरुवाको हेरविचार गर्दै हुनुहुन्छ।

जीविकोपार्जन पुनःस्थापना कार्यक्रम प्रभावित व्यक्तिहरूको हितमा रहेको विचार व्यक्त गर्दै उहाँ भन्नुहुन्छ, “सामान्यतया जग्गा अधिग्रहण प्रक्रियाका कारण प्रभावित व्यक्तिहरू विचल्लीमा पर्दछन् तर रातमाटेमा अपनाइएको जग्गा अधिग्रहण प्रक्रियामा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमलाई पनि समावेश गरिएको छ र यसले गर्दा प्रभावित व्यक्तिहरूको
जीवनस्तर उकासिने सुनिश्चित भएको छ।”

श्रीमती लामा मात्र नभई उहाँका श्रीमान श्री दिनेश लामा पनि जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको योजना अनुसार जेसीबी अपरेटर तालिममा सहभागी हुनुहुँदैछ। यसले गर्दा उहाँहरू दुवै जनाको आय आर्जन क्षमतामा अभिवृद्धि हुँदैछ।