ढाका उद्योगी बन्ने सपना बुन्दै भीममाया

नुवाकोट जिल्लास्थित बेलकोटगढी नगरपालिकाको धनसार गाउँमा ५३ वर्षीया भीममाया लिम्बू आफ्नो श्रीमान, छोरा, बुहारी र दुई वर्षीया नातिनीसँग जीवन बिताइरहनुभएको छ। कुवेतमा वैदेशिक रोजगारीमा रहनुहुँदा उहाँले धनसार गाउँमा एक टुक्रा खेत किन्नका लागि पैसा पठाउनुभएको थियो। सोही खेतमा उहाँको परिवारले गर्ने गरेको बाली र तरकारी खेती नै उहाँहरूको प्राथमिक आयस्रोत थियो।

एमसिए–नेपालले नुवाकोट जिल्लामा रातमाटे सबस्टेशन निर्माणका लागि उहाँहरूको जग्गा प्राप्ति गरेपछि उहाँको परिवारले त्यो जग्गा छोड्नुपर्‍यो। उहाँहरू जग्गाको मुआब्जा लिएर अन्यत्रै सर्नुपर्‍यो। त्यसको लगत्तै भीममाया नेपाल फर्कनुभएको थियो।

एमसिए–नेपालले आयोजना प्रभावित व्यक्तिहरूको जीविकोपार्जन सुधार गर्न जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरेपछि भीममाया आफ्नो परिवारका लागि आयआर्जनको नयाँ क्षितिज उघार्न उक्त कार्यक्रममा सहभागी हुनुभयो। सो क्रममा उहाँले ढाका बुनाइसम्बन्धी तालिम हासिल गर्ने अभिरुचि देखाउनुभएको थियो। उहाँलाई उक्त सीपसम्बन्धी केही पूर्व–जानकारी थियो र त्यससम्बन्धी थप विज्ञता हासिल गरी आफ्नै व्यवसाय सञ्चालन गर्ने इच्छा उहाँको थियो।

शुरुमा त उहाँको श्रीमानले उहाँलाई न उक्त तालिममा जान अनुमति दिनुभयो न त आफ्नै व्यवसाय थाल्ने उहाँको विचारमा साथ नै दिनुभयो। तैपनि उहाँ ढाका बुनाइसम्बन्धी दुई महिने तालिममा सहभागी हुनुभयो र पूरा पनि गर्नुभयो।

उहाँको अभिरुचि र दृढ इच्छाशक्तिलाई दृष्टिगत गरी उहाँलाई थप एक महिना प्रशिक्षण प्रदान गरिएको थियो। तालिम सम्पन्न भएपछि उहाँले मुआब्जाका रूपमा प्राप्त रकमबाटै एउटा ढाका बुन्ने तान र केही कच्चा पदार्थ किन्नुभयो। घरमै बसेर सोही तानमा उहाँले विभिन्न किसिमका ढाकाका कपडा बुन्न थाल्नुभयो र राम्रो भाउमा बिक्री पनि गर्न थाल्नुभयो।

अहिले उहाँ आफ्नो उद्योगलाई विस्तार गर्न अभिप्रेरित हुनुभएको छ। आफ्नो उद्यमबाट कमाएको नाफाबाट ढाका बुन्ने तानको सङ्ख्या बढाउन सकिने आशामा उहाँ हुनुहुन्छ। साथै आफूले सिकेको सीप अन्य स्थानीय वासिन्दाहरूलाई पनि सिकाएर उनीहरूका लागि रोजगारीको अवसर सिर्जना गर्ने सोचमा पनि उहाँ हुनुहुन्छ।

एमसिए–नेपालको सहयोगबाट ढाका बुन्ने आफ्नो सीप परिमार्जन गर्न पाएकोमा र एक जना उद्यमीका रूपमा अगाडि बढ्ने व्यावसायिक अवसर पाएकोमा उहाँ कृतज्ञ हुनुहुन्छ। उहाँ भन्नुहुन्छ, “यो तालिम नपाएको भए म अरु जस्तै कामको खोजीमा विदेश धाइरहेकी हुन्थेँ।”

जीविकोपार्जन पुनःस्थापना कार्यक्रम भौतिक तथा आर्थिक रूपमा विस्थापित व्यक्तिहरूको जीविकोपार्जन सुध्रिएको सुनिश्चित गर्ने अन्तरराष्ट्रिय मापदण्डमा आधारित एमसिए–नेपालको पुनर्वास कार्ययोजनाको एक अभिन्न अङ्ग हो।

हेर्नुहोस्, भीममायाको कथा: