निर्माण व्यवसायीहरूसँग छलफल कार्यक्रम


एमसिए–नेपालले विद्युत् प्रसारण लाइन र सबस्टेसनको निर्माणका लागि सम्भावित निर्माण व्यवसायीहरूसँग २०७९ साल असोज ४ गते एक छलफल कार्यक्रम आयोजना गर्‍यो।
उक्त कार्यक्रममा करिब ३०० किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारण लाइन र तीनवटा ४०० केभी क्षमताका सबस्टेसन डिजाइन, आपूर्ति र जडान, परीक्षण र कार्य सम्पन्नतासम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। यसैगरी एमसिए–नेपालको खरिद प्रक्रिया, आधारभूत मान्यताहरू र मार्गनिर्देशिकाहरूबारे प्रकाश पारिएको थियो।
उक्त कार्यक्रममा विभिन्न राष्ट्रिय एवं अन्तरराष्ट्रिय निर्माण कम्पनीका करिब एक सय जना प्रतिनिधिले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सहभागिता जनाएका थिए।
कार्यक्रममा सहभागीहरूलाई स्वागत गर्दै एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले विद्युत् प्रसारण लाइन र सबस्टेशनहरूको निर्माणमा सहभागी हुनु भनेको राष्ट्र निर्माणमा योगदान दिने अवसर भएको विचार व्यक्त गर्नुभयो।
श्री विष्टले आयोजनाहरूको अद्यावधिक अवस्थाबारे प्रकाश पार्दै भन्नुभयो, “कम्प्याक्टको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि कुनै पनि निर्माण कार्यलाई अगाडि बढाउनुभन्दा पहिले नै यससँग सम्बन्धित सम्पूर्ण मापदण्ड पूरा गरिएको सुनिश्चित गर्नका लागि वातावरणीय मूल्याङ्कन, पुनर्वास कार्ययोजनाको तयारी तथा नेपाल सरकारका साझेदार निकायहरूसँग सहकार्य जस्ता कम्प्याक्ट कार्यान्वयनमा सघाउने क्रियाकलापहरू अगाडि बढिरहेका छन्।”

आगामी वर्षको भदौदेखि सम्पूर्ण निर्माण कार्य शुरु गरिने लक्ष्य लिइएको जानकारी पनि उहाँले प्रस्तुत गर्नुभयो।
यसैगरी, नेपालका लागि एमसीसीका कार्यवाहक राष्ट्रिय निर्देशक श्री सञ्जय पौड्यालले गुणस्तरीय कामका आधारमा खरिद प्रक्रियामा सहभागी हुन सहभागीहरूलाई आह्वान गर्नुभयो।
उहाँले भन्नुभयो, “एमसीसी कम्प्याक्टले कुनै एक राष्ट्रका कम्पनिबाट मात्रै खरिद गर्ने गर्दैन। यो अन्तरराष्ट्रिय दाबेदारहरूका लागि खुला छ। कम्प्याक्ट अन्तर्गतको बोलपत्र हाल्ने प्रक्रिया प्रतिस्पद्र्धामा आधारित प्रक्रिया हो र खुला प्रतिस्पर्द्धाका माध्यमबाट यसले अधिकतम पारदर्शिता र निष्पक्षता अपनाउँछ।”
दुई सत्रमा बाँडिएको उक्त कार्यक्रमको पहिलो सत्र नेपालमा करिब ३०० किमि लामो ४०० केभी क्षमताको डी/सी प्रसारण लाइनको प्लाण्ट डिजाइन, आपूर्ति एवं जडान, परीक्षण तथा कार्य सम्पन्नतामा केन्द्रित रहेको थियो भने दोस्रो सत्र नेपालमा तीन वटा ४०० केभी क्षमताका सबस्टेशनको प्लाण्ट डिजाइन, आपूर्ति एवं जडान, परीक्षण तथा कार्य सम्पन्नतामा केन्द्रित रहेको थियो।
यस्तै किसिमको छलफल कार्यक्रम २०७९ साल कात्तिक १५ र १६ गते भारतको नयाँ दिल्लीमा पनि आयोजना भएको थियो। उक्त कार्यक्रममा विभिन्न कम्पनीका ९० जना प्रतिनिधि प्रत्यक्ष तथा अनलाइन माध्यमबाट सहभागिता जनाएका थिए।