एमसिए–नेपालद्वारा सञ्चारकर्मीका लागि सूचनामूलक अन्तरक्रिया आयोजित

काठमाडौँ, २०७९ भदौ २ । एमसिए–नेपालद्वारा यही भदौ २ गते सञ्चारकर्मीका लागि सूचनामूलक अन्तरक्रिया आयोजना गरेको छ । उक्त अन्तरक्रिया कार्यक्रममा सहभागी पत्रकारहरूलाई कार्यस्थलमा पहुँचका लागि भइरहेको तयारी कार्य, निर्माण कार्य थालनी गर्ने मिति, आर्थिक तथा खरिद प्रक्रिया तथा योजनाहरूसम्बन्धी जानकारी प्रदान गरिएको थियो ।
एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले कम्प्याक्ट कार्यान्वयनलाई सघाउने तथा निर्माण कार्य थालनी गर्नका लागि आवश्यक क्रियाकलापहरू हाल सञ्चालन भइरहेको बताउनुभयो ।
वातावरणीय प्रभाव मूल्याङ्कन, पुनर्वास कार्ययोजना तर्जुमाका साथै कम्प्याक्टको सफल कार्यान्वयन प्रत्याभूत गर्नका लागि कुनै पनि निर्माण कार्य अगाडि बढाउनुपूर्व पूरा गर्नुपर्ने सम्पूर्ण मापदण्ड अपनाइएको सुनिश्चित गर्नका लागि सम्बन्धित सरकारी निकायहरूसँग सहकार्य जस्ता कार्यहरू हाल भइरहेको उहाँले प्रकाश पार्नुभयो ।
कार्यकारी निर्देशक श्री विष्टले सन् २०२३ अगष्टमा आयोजनाहरूको निर्माण कार्य थालनी गरिने जानकारी पनि दिनुभयो ।
यसैगरी एमसिए–नेपालका प्रमुख वित्त अधिकृत श्री निर्मल खतिवडा एवं कार्यक्रम खरिद व्यवस्थापक श्री महेन्द्र श्रेठले क्रमशः वित्तीय तथा खरिद प्रक्रिया एवं योजनाहरूबारे प्रस्तुति गर्नुभएको थियो ।
विभिन्न सञ्चार माध्यमका ४३ जना पत्रकारहरूको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा एमसीसी नेपाल कम्प्याक्ट तथा एमसिए–नेपालका विविध पक्षबारे प्रश्नोत्तर गरिएको थियो ।