एफडीआर र सुपरपेभ प्रयोगशाला उपकरणसम्बन्धी प्रशिक्षण

एमसिए–नेपाल र सडक विभागद्वारा संयुक्त रूपमा फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र सुपेरियर पर्फमिङ आस्फाल्ट पेभमेण्ट्स (सुपरपेभ) सम्बन्धी प्रयोगशाला उपकरणको जडान तथा सञ्चालनसम्बन्धी दुई साता लामो प्रशिक्षण आयोजना गरिएको छ।


प्रशिक्षक श्री मौरिसियो भोल्केन प्रशिक्षणका क्रममा २०७९ साल फागुन ९ गते विद्युतीय पेट्रोमिटरबारे प्रशिक्षार्थीहरूलाई जानकारी दिनुहुँदै।

उक्त प्रशिक्षण २०७९ साल फागुन ८ देखि १९ गतेसम्म सञ्चालन गरिएको थियो।

प्रशिक्षणका क्रममा सडक विभागका छ जना इञ्जिनियर एवं सहायक इञ्जिनियर, इञ्जिनियरिङ अध्ययन संस्थानको यातायात इञ्जिनियरिङ सङ्कायका चार जना सह–प्राध्यापक तथा एमसिए–नेपालका दुई जना कर्मचारीलाई पेभमेण्ट पुनःप्रयोग कार्य कार्यान्वयनका क्रममा उक्त उपकरण जडान, प्रयोग, सञ्चालन, कार्यविधि एवं आवश्यकताहरू, प्रयोगका लागि प्रारम्भिक एवं नियमित मापदण्डसम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो।

एमसिए–नेपालका उप–कार्यकारी निर्देशक श्री महेश आचार्य २०७९ साल फागुन ८ गते प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै।

उक्त उपकरण सडक विभागमा रहेका प्रयोगशालाको नियमित सञ्चालनका क्रममा तथा सडक मर्मतको निर्माण चरणमा प्रयोग गरिनेछ।


सडक विभागको विकास सहयोग तथा कार्यान्वयन महाशाखाका उप–महानिर्देशक डा. विजय जैसी २०७९ साल फागुन ८ गते प्रशिक्षणको उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै।

अमेरिकन सोसाइटी फर टेष्टिङ एण्ड म्याटेरियल्स (एएसटीएम) र अमेरिकन एसोसियसन अफ स्टेट हाइवे एण्ड ट्रान्स्पोर्टेसन अफिसियल्स (एएएसएचटीओ) को मापदण्ड अनुसार सञ्चालन गरिएको उक्त प्रशिक्षण सडक मर्मत आयोजना अन्तर्गत सडक विभागलाई प्रदान गरिएको प्राविधिक सहायताको एक अंश हो।