सडक मर्मत आयोजनासम्बन्धी सार्वजनिक सुनुवाइ सम्पन्न


एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत दाङ्ग जिल्लामा पर्ने ४० किमि लामो धानखोला–लमही सडक खण्डको मर्मत एवं स्तरोन्नतिको काम अगाडि बढाउन प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीको एक अंशका रूपमा सार्वजनिक सुनुवाइ कार्यक्रमहरू सम्पन्न गरेको छ। ती सार्वजनिक सुनुवाइ कार्यक्रमहरू २०७९ साल भदौ १० देखि १२ गतेसम्म आयोजना गरिएका थिए।
दाङ्ग जिल्लाको राप्ती गाउँपालिकाको मसुरिया, गडवा गाउँपालिकाको कालाकाते र लमही नगरपालिकाको लमही, अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकाको लाहापे र कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाको चन्द्रौटामा ती सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिएको थियो।


सडक स्तरोन्नति गरिने नगरपालिकाहरूमा आयोजना गरिएका ती पाँच वटा कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरू, स्थानीय निकायहरू एवं आयोजना प्रभावित क्षेत्रका सर्वसाधारणको सहभागिता रहेको थियो।