एमसिए–नेपालविरुद्ध क्रमबद्ध रूपमा भ्रामक सामग्री सम्प्रेषण भइरहेकोमा गम्भीर आपत्ति

काठमाडौँ, २०७८ मङ्सिर २७ गते।

मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) का सम्बन्धमा अतिरञ्जित तथा असत्य सन्देशहरू सामाजिक सञ्जालबाट सम्प्रेषण भइरहेकोप्रति एमसिए–नेपालको गम्भीर ध्यानाकर्षण भएको छ।

सामाजिक सञ्जाल ट्वीटर र फेसबूकमार्फत एमसिए–नेपाल विकास समितिका लागि खरिद एजेण्ट तथा वित्तीय एजेण्टका रूपमा परामर्श सेवा उपलब्ध गराइरहेको कार्डनोको लोगोसहित नक्कली कागजपत्र प्रयोग गरी एक सामग्री सम्प्रेषण गरिएको पाइएको छ। उक्त सामग्रीमा कार्डनोको
परिचयका रूपमा भ्रामक जानकारी उल्लेख गरिनुका साथै एमसिए–नेपालको सुरक्षा व्यवस्थासम्बन्धी सेवा आपूर्तिका लागि तयार गरिएको दस्तावेजलाई गलत अर्थ लाग्ने गरी कपोलकल्पित कुरा उल्लेख गरिएको थियो। साथै उक्त सामग्रीमा उल्लेख गरिएका सूचनाहरू कपोकल्पित भएको र उल्लेख गरिएको जस्तो नेपालमा अमेरिकी सेना ल्याउने कुनै रणनैतिक योजना नभएको र नेपालमा अमेरिकी सेना ल्याउने तयारीमा कुनै समिति नबनाइएको जानकारी एमसिए–नेपाल यस विज्ञप्तिमार्फत सर्वसाधारणलाई गराउन चाहन्छ।

सामाजिक सञ्जालको दुरुपयोग गरी जनसाधारणबीच भ्रम फैलाउने खालका असत्य जानकारी सम्प्रेषण गर्ने निन्दनीय प्रवृत्तिप्रति एमसिए–नेपाल गम्भीर भत्र्सना गर्नुका साथै त्यस्ता सूचना प्रदूषण फैलाउने कुत्सित मनसाययुक्त भ्रामक सन्देश सम्प्रेषकविरुद्ध कडा कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाइसकेको छ।

यस अघि गत भदौ महिनामा पनि ट्वीटरमार्फत् यस्तै भ्रामक सामग्री सम्प्रेषण भएको पुनःस्मरण गराउँदै नेपाल प्रहरीको साइबर ब्यूरोले त्यसविरुद्ध छानबिन कार्य गम्भीरतापूर्वक अगाडि बढाइरहेको जानकारी गराउन चाहन्छौँ।