एमसिए–नेपालद्वारा राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा प्रगति विवरण प्रस्तुत


राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका अध्यक्ष माननीय श्रीमती दिलकुमारी रावल थापा (पार्वती) २०७९ साल चैत ५ गते एमसिए–नेपालको प्रगतिका सन्दर्भमा आयोजना गरिएको छलफल कार्यक्रमको सभापतित्व गर्नुहुँदै।

एमसिए–नेपालले राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा २०७९ साल चैत ५ गते एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत सञ्चालन भइरहेका आयोजनाहरूको प्रगति विवरण प्रस्तुत गरेको छ।

बैठकमा अर्थ मन्त्रालयका राजस्व सचिव श्री रामप्रसाद घिमिरेले एमसिए–नेपाल अन्तर्गतका आयोजना राष्ट्रिय हित र राष्ट्रिय चासोसँग सम्बन्धित विषयवस्तु भएको उल्लेख गर्दै ती आयोजना समयसीमाभित्रै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

उक्त समितिलाई आयोजनाका योजना तथा प्रगतिबारे जानकारी गराउँदै एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्टले विद्युत् प्रसारण आयोजनाका लागि कार्यक्षेत्रमा पहुँच प्राप्त गर्नका लागि भइरहेका तयारी कार्यहरूमाथि प्रकाश पार्नुभयो। नुवाकोटमा रातमाटे विद्युत् सबस्टेशनका लागि सम्पन्न भएको जग्गा प्राप्ति एवं जारी रहेको जीविकोपार्जन पुनःस्थापना कार्यक्रम, प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि प्रमुख बोलपत्र आह्वानहरूको प्रकाशन तथा छ वटा जिल्लामा प्रसारण लाइनका लागि जग्गा प्राप्तिका लागि भइरहेका पहल लगायतका महत्वपूर्ण अद्यावधिक जानकारीहरू एमसिए–नेपालले उक्त बैठकमा प्रस्तुत गरेको थियो।

श्री विष्टले १० वटा जिल्लामा क्षतिपूर्ति निर्धारण समिति गठन गरिने र उक्त समितिले मुआब्जा दर निर्धारण, विकास समितिको नाममा जग्गा नामसारी, प्रसारण लाइनको भोगाधिकार क्षेत्र निर्धारण तथा मुआब्जा वितरण जस्ता कार्यहरू गर्ने जानकारी समितिलाई गराउनुभएको थियो।

आगामी भदौमा एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयन चरणमा प्रवेश हुनु अगाडि नै लागत, क्षमता र गुणस्तरीयतामा आधारित अन्तरराष्ट्रिय प्रतिस्पर्द्धाका माध्यमबाट प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि निर्माण व्यवसायी छनोट गरिने जानकारी पनि उक्त संसदीय समितिलाई गराइएको थियो।

बैठकमा समितिका सदस्यहरूले आयोजनाहरूको प्रगति सन्तोषजनक भएको पाइएको बताउँदै निर्धारित समयसीमाभित्र अपेक्षित लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित काम अगाडि बढाउन सुझाव दिनुभएको थियो।


राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा २०७९ साल चैत ५ गते एमसिए–नेपालको प्रगतिका सन्दर्भमा आयोजना गरिएको छलफल कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरे तथा सह-सचिव श्री आनन्द काफ्लेको समुपस्थितिमा प्रगति विवरण प्रस्तुत गर्नुहुँदै एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट।

बैठकको अन्त्यमा समितिका अध्यक्ष माननीय श्रीमती दिलकुमारी रावल थापा (पार्वती)ले अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सम्बन्धित पक्षहरूसँग समन्वय गरी आयोजना कार्यान्वयनका साथै जग्गा प्राप्ति, वन क्षेत्रको प्रयोग तथा भोगाधिकारका सन्दर्भमा देखिएका समस्याहरूको अनुगमनका लागि समितिले निर्देशन दिएको जानकारी गराउनुभएको थियो।

उक्त बैठकले नेपालमा सञ्चालित एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनमा गएको पाँच वर्षभित्र सम्पन्न गर्नुपर्ने र सो अवधिभित्र सम्पन्न हुन नसकेमा उक्त कार्यक्रमको सम्पूर्ण दायित्व नेपाल सरकारले व्यहोर्नुपर्ने विषयमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको थियो।

यसैगरी आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न आयोजनामा देखिएका जग्गा प्राप्ति, वन क्षेत्रको जग्गाको उपयोग, जग्गाको भोगाधिकारको मुआब्जा, जग्गाको मार्गमा देखिएका समस्या सरोकारवाला निकाय र पक्षसँग समन्वय गरी समाधान गर्दै आयोजनाको कार्यान्वयन र अनुगमन गर्न अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र एमसिए–नेपाललाई निर्देशन दिने निर्णय पनि उक्त कार्यक्रममा गरिएको थियो।

समितिले बैठकका क्रममा एमसिए–नेपालको सञ्चालक समितिलाई समावेशी बनाउन पनि निर्देशन दिएको छ।