वास्तविकतामा रूपान्तरित कमलका सपना

आफ्नी श्रीमती र दुई छोरासँग ४४ वर्षीय कमलबहादुर सारु मगर नुवाकोटको रातमाटेमा बसोबास गर्दै आउनुभएको छ। सानै उमेरबाट कमाइको बाटो रोज्नुभएका उहाँले आफ्नो युवा उमेरमा नै धेरै आर्थिक कठिनाइको सामना गर्नुपर्‍यो। कमल केही वर्ष अघि रेस्टुरेण्टमा काम गर्न भारत पुग्नुभयो। भारतमा १० वर्ष कडा परिश्रम गरेपछि उहाँ आफैँले रेस्टुरेण्ट व्यवसाय सुरु गर्ने अठोटका साथ नेपाल फर्कनुभयो। आफूले सिकेका कुरा र अनुभवको उपयोग गदै कमलले नुवाकोट जिल्लाको महादेवफाँटमा सानो फास्टफुड रेस्टुरेण्ट सुरु गर्नुभयो। त्यसबाट उहाँले मासिक १० हजार रुपैयाँ आर्जन गर्न थाल्नुभयो। सानो रेस्टुरेण्ट व्यवसायका अतिरिक्त जीविकोपार्जनका लागि कमलको परिवारले आफ्नो जग्गामा सीमित तरकारी र फलफूल खेतीलाई पनि अगाडि बढाइरहेको थियो।

एमसिए-नेपालले नुवाकोट जिल्लामा निर्माण गर्ने विद्युत् सबस्टेशन निर्माणस्थलमा कमलको जग्गा पनि पर्‍यो। त्यसबाट उहाँको जीवनमा सकारात्मक परिवर्तन आएको छ। कमल आफ्नो आम्दानीदेखि सन्तुष्ट हुनुहुन्नथ्यो र सधैँ व्यवसाय विस्तार गर्ने सोच बनाइरहनुहुन्थ्यो। व्यवसाय विस्तारको चाहना भए पनि अगाडि बढ्नका लागि निश्चित योजना र लगानी भने उहाँसँग थिएन। सबस्टेशन निर्माणका लागि प्राप्ति गरेको उहाँको जग्गाको क्षतिपूर्ति प्रदान गरी एमसिए-नेपालले कमल जस्तै आयोजना प्रभावितका लागि जीविकोपार्जन पुनःस्थापना कार्यक्रम कार्यान्वयन गर्न थालेपछि भने उहाँको आकाङक्षा वास्तविकतामा परिणत हुने वातावरण बन्यो।

पैत्रिक सम्पत्ति छोड्ने निर्णय सजिलो पक्कै थिएन तर जग्गा प्राप्ति ऐन, २०३४ को व्यवस्था अनुसार प्रदान गरिएको मुआब्जाबाट भने कमल र उहाँको परिवारलाई आफ्नो सानो व्यवसाय विस्तार गर्ने ढोका त्यसैबाट खुल्यो। मुआब्जाबाट प्राप्त पैसाले कमलले महादेवफाँटमा नै जग्गा समेत किन्नुभएको छ। त्यहाँ भविष्यमा घर बनाउने उहाँको सोच छ।

एमसिए-नेपालले जग्गा प्राप्ति प्रक्रिया सम्पन्न गरेसँगै भौतिक र आर्थिक रूपमा विस्थापित आयोजना प्रभावितको जीवनस्तर र आयस्रोत पुनःस्थापनाका लागि जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको थियो। जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत एमसिए-नेपालले प्रदान गर्ने जीवनस्तर सुधारसम्बन्धी तालिमका कार्यक्रमहरूमा आयोजना प्रभावितहरूको प्राथमिकता यकिन गर्न र उक्त कार्यक्रमको लक्ष्य हासिल गर्न घरधुरी सर्वेक्षण गरिएको थियो।

उक्त घरधुरी सर्वेक्षणका क्रममा कमलले मिठाइ र खाजा बनाउने तालिम लिन आफू इच्छुक रहेको उल्लेख गर्नुभयो र उहाँ त्यसैमा आबद्ध हुनुभयो। दुई महिना लामो तालिममा उहाँले पाककलासम्बन्धी सीप सिक्नुभयो भने त्यसैका आधारमा आफ्नो रेस्टुरेण्टको मेनु पनि विस्तार गर्नुभयो। तालिम लिनु अघि उहाँको रेस्टुरेण्टमा दैनिक तीन/चार किसिमका खानेकुरा मात्रै पाक्थ्यो। तालिम लिएपछि उहाँले आफ्नो मेनुमा स्थानीयस्तरमा लोकप्रिय रहेका समोसा, चाउमिन, मोमो र थुक्पा जस्ता खानेकुरा पनि थप्नुभयो। उहाँले चाडपर्व र समयानुसारका नयाँ नयाँ खानेकुरा पनि थप्न थाल्नुभयो।

उहाँकी श्रीमती पनि उहाँको व्यवसायमा सहयोग गर्नुहुन्छ। उहाँ पनि बाख्रापालन र व्यवस्थापनसम्बन्धी तालिममा सहभागी हुनुभएको थियो। तालिमपश्चात् उहाँलाई बाख्रापालन व्यवसाय सञ्चालनका लागि दुईवटा पाठा/पाठी पनि उपलब्ध गराइएको थियो।

अहिले कमल र उहाँकी श्रीमती आफ्नो घर बनाउने सपना साकार पार्न आम्दानी बचत गर्न थाल्नुभएको छ।

कमल खुशीका साथ भन्नुहुन्छ, “मलाई सीप प्रदान गर्ने जीविकोपार्जन पुनःस्थापना कार्यक्रमलाई धन्यवाद भन्न चाहन्छु। उक्त कार्यक्रमले उपलब्ध गराएको तालिमका कारण नै मेरो व्यवसाय विस्तार भइरहेको छ। अहिले म मासिक २० हजार रुपैयाँभन्दा धेरै नाफा कमाइरहेको छु। मलाई विश्वास छ, आगामी दिनमा यो अझै विस्तार हुनेछ।” यो नाफा कमल तालिममा सहभागी हुनुपूर्वको तुलनामा दोब्बर हो।

कमल जस्तै आयोजना प्रभावित करिब २७० जना जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको सहयोगबाट लाभान्वित भइरहनुभएको छ।