दाङमा पुनर्वास कार्ययोजना सार्वजनिक

एमसिए–नेपालले सडक मर्मत आयोजना अन्तर्गत तयार पारिएको पुनर्वास कार्ययोजना २०८० साल माघ २७ र २८ गते दाङ जिल्लामा जिल्ला र स्थानीयस्तरमा सार्वजनिक गरेको छ।

दाङका प्रमुख जिल्ला अधिकारी श्री रामबन्धु सुवेदीको उपस्थितिमा जिल्लास्तरीय सार्वजनिकीकरण कार्यक्रम आयोजना गरिएको थियो भने गढवा गाउँपालिका र लमही नगरपालिकामा आयोजना गरिएका कार्यक्रमहरूमा सम्बन्धित पालिकाका निर्वाचित जनप्रतिनिधिहरूको उपस्थिति थियो।

उक्त कार्यक्रममार्फत सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा प्रभावित हुने संरचनाका लागि जग्गा प्राप्ति ऐन, २०३४ को प्रावधान अनुसार प्रदान गरिने क्षतिपूर्तिको विषयमा जानकारी गराइएको थियो। अन्ततरराष्ट्रिय मापदण्ड अनुसार तयार गरिएको उक्त कार्ययोजनाले भौतिक र आर्थिक रूपमा विस्थापित मानिसहरूको जीवनस्तर सुधार सुनिश्चित गर्छ।

एमसिए–नेपालले पूर्व–पश्चिम राजमार्गको दाङ जिल्लामा पर्ने धानखोलादेखि लमहीसम्मको ४० किलोमिटर सडक खण्ड आधुनिक, वातावरणमैत्री र कम खर्चिलो सडक प्रविधिको प्रयोग गरी सडक मर्मतसम्भारको कार्य गर्दैछ।