जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमसम्बन्धी जिल्लास्तरीय थालनी बैठक

नुवाकोटको विदुर नगरपालिकामा २०७९ साल असार २७ गते आयोजना गरिएको रातमाटे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमसम्बन्धी जिल्लास्तरीय थालनी बैठक।

रातमाटे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमसम्बन्धी जिल्लास्तरीय थालनी बैठक नुवाकोटको विदुर नगरपालिकामा २०७९ साल असार २७ गते आयोजना गरिएको छ।

उक्त बैठकको उद्देश्य जिल्लास्तरीय सरोकारवालाहरूलाई रातमाटे जीविकोपार्जन पुनर्स्थापना कार्यक्रमको कार्यान्वयनसम्बन्धी लक्ष्य, उद्देश्य, दृष्टिकोण, विधि तथा योजनाबारे जानकारी गराउनु र उक्त पहलको कार्यान्वयन तथा दिगोपनाका लागि उनीहरूको समर्थन प्राप्त गर्नु रहेको थियो।

जिल्ला समन्वय समिति, नुवाकोटका प्रमुख, उप–प्रमुख एवं सदस्यहरू, बेलकोटगढी नगरपालिकाका प्रमुख, नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी, नुवाकोटस्थित नेपाल प्रहरी एवं सशस्त्र प्रहरी बलका प्रमुख तथा जिल्लास्थित सरकारी कार्यालयहरूका प्रमुखहरूको उपस्थिति उक्त बैठकमा रहेको थियो।

एमसिए–नेपालका कार्यकारी निर्देशक श्री खड्ग बहादुर विष्ट तथा सप्रोस नेपालका कार्यकारी निर्देशक श्री सुनित अधिकारीले सहभागीहरूबाट उठेका प्रश्न तथा चासोहरूको सम्बोधन गर्नुभएको थियो।