एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाको २९७ किमि लामो प्रसारण लाइन खण्डको आगामी खरिदसम्बन्धी जानकारी सम्भाव्य बोलपत्रदाताहरूलाई प्रदान गर्न २०८१ साल असोज १४ गते छलफल कार्यक्रम आयोजना गरेको थियो ।
विभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका करिब ७० जना प्रतिनिधिको सहभागिता रहेको उक्त कार्यक्रममा एमसिए–नेपालले गर्ने खरिदका उद्देश्यहरू, समय तालिका, खरिद प्रक्रिया, सिद्धान्त र मार्गनिर्देशनबारे जानकारी गराइएको थियो ।
उक्त प्रसारण लाइन निर्माणका लागि २०८१ साल मङ्सिरभित्र बोलपत्र आह्वान गरिनेछ ।
एमसिए–नेपालले यस अघि छुट्टै खरिद प्रक्रियामार्फत महत्वपूर्ण १८ किमि लामो विद्युत् प्रसारण लाइन खण्डको ठेक्का सम्झौता गरिसकेको छ । नेपाल सरकारको सीमापार विद्युत् व्यापारको महत्वलाई दृष्टिगत गरी ३१५ किमि प्रसारण लाइनबाट १८ किमि खण्डलाई अलग गरी निर्माण कार्य अगाडि बढाउने निर्णय गरिएको थियो ।