वन उपभोक्ता समूहहरूसँग परामर्श कार्यक्रम

एमसिए–नेपालले आयोजना प्रभावित जिल्लाहरू धादिङ्ग, नुवाकोट, चितवन, मकवानपुर, पाल्पा, तनहुँ, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरू तथा कबुलियती वन उपभोक्ता समूहहरूसँग परामर्श कार्यक्रम सञ्चालन गरेको छ।


धादिङ्ग जिल्लाको गल्छी गाउँपालिका – २ मा २०७९ साल माघ १० गते आयोजना गरिएको परामर्श कार्यक्रम।

गएको वर्ष माघदेखि चैतसम्मको अवधिमा ती नौ जिल्लामा ११९ वटा सामुदायिक वन उपभोक्ता समूह र नौ वटा कबुलियती वन उपभोक्ता समूहको सहभागितामा ७६ वटा परामर्श कार्यक्रम आयोजना गरिएको थियो।


नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका – २ मा २०७९ साल माघ १२ गते आयोजना गरिएको परामर्श कार्यक्रम।

नुवाकोट जिल्लामा २०७९ साल माघ ९ गतेदेखि २५ गतेसम्मको अवधिमा ३६ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा १६ वटा कार्यक्रम सञ्चालन गरिएको थियो भने तनहुँ जिल्लामा माघ ९ गतेदेखि २६ गतेसम्मको अवधिमा २१ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा १५ वटा कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी धादिङ्ग जिल्लामा माघ ४ गतेदेखि २४ गतेसम्मको अवधिमा २४ वटा सामुदायिक वन उपभोक्ता समूह र एउटा कबुलियती वन उपभोक्ता समूहको सहभागितामा १३ वटा कार्यक्रम, चितवन जिल्लामा माघ २५ र २६ गते गरी छ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा दुई वटा कार्यक्रम आयोजना गरिएको थियो।


धादिङ्ग जिल्लाको सिद्धलेक गाउँपालिका – ६ मा २०७९ साल माघ १३ गते आयोजना गरिएको परामर्श कार्यक्रम।

यसैगरी मकवानपुर जिल्लामा फागुन १ गतेदेखि १२ गतेसम्मको अवधिमा १५ वटा सामुदायिक वन उपभोक्ता समूह र एउटा कबुलियती वन उपभोक्ता समूहको सहभागितामा १५ वटा कार्यक्रम, पाल्पा जिल्लामा फागुन १० गतेदेखि १९ गतेसम्मको अवधिमा १४ वटा सामुदायिक वन उपभोक्ता समूह र एउटा कबुलियती वन उपभोक्ता समूहको सहभागितामा नौ वटा कार्यक्रम आयोजना गरिएको थियो। नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन ११ गतेदेखि १६ गतेसम्मको अवधिमा छ वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा चार वटा कार्यक्रम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा २०७९ साल फागुन १४ गते दुई वटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा एउटा कार्यक्रम र सिन्धुपाल्चोक जिल्लामा चैत १७ गते एउटा सामुदायिक वन उपभोक्ता समूहको सहभागितामा एउटा कार्यक्रम सञ्चालन गरिएको थियो।


नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका – ५ लामाचौरमा २०७९ साल माघ २१ गते आयोजना गरिएको परामर्श कार्यक्रम।

वन उपभोक्ता समूहहरूलाई वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका निष्कर्षहरूबारे जानकारी दिने तथा रुखगणना तथा पुनर्वास कार्ययोजना तयारी टोली परिचालन गर्नुपूर्व आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्यले ती परामर्श कार्यक्रमहरू आयोजना गरिएका थिए। ती कार्यक्रममा आयोजना प्रभावित प्रत्येक वन उपभोक्ता समूहहरूको अवस्थाबारे छलफल गरिएको थियो भने नेपाल सरकारका कानुनी व्यवस्था बमोजिम क्षतिपूर्ति उपलब्ध गराउन तथा वन पुनःस्थापना गराउन सुझाव दिइएको थियो।


मकवानपुर जिल्लाको कैलाश गाउँपालिका – ५ मा २०७९ साल फागुन ९ गते आयोजना गरिएको परामर्श कार्यक्रम।

एमसिए–नेपाल टोलीले परामर्श कार्यक्रममा गरिएका छलफलका आधारमा प्रभावित वन उपभोक्ता समूहहरूमा पर्ने प्रभावबारे थप मूल्याङ्कन गरेर त्यसको अभिलेख राख्नेछ।
एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गत कार्यान्वयन गर्न लागिएको विद्युत् प्रसारण आयोजनाले गर्ने प्रसारण लाइन तथा सबस्टेशन निर्माणबाट केही राष्ट्रिय वनमा निश्चित रूपमा प्रभाव पार्नेछ भने केही हदसम्म रुखकटानी गर्नुपर्नेछ। प्रस्तावित प्रसारण लाइन १२१ वटा सामुदायिक वन तथा आठ वटा कबुलियती वन भएर जानेछ।


मकवानपुर जिल्लाको कैलाश गाउँपालिका – ६ मा २०७९ साल फागुन १० गते आयोजना गरिएको परामर्श कार्यक्रम।


नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुनवल नगरपालिका – २ मा २०७९ साल फागुन १६ गते आयोजना गरिएको परामर्श कार्यक्रम।


पाल्पा जिल्लाको निस्दी गाउँपालिका – ७ मा २०७९ साल फागुन १७ गते आयोजना गरिएको परामर्श कार्यक्रम।