प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत सर्वेक्षण

एमसिए–नेपालले सात जिल्लामा प्रसारण लाइनमुनि पर्ने जग्गाको स्थलगत सर्वेक्षण २०७९ साल माघ १७ गतेदेखि चैत १० गतेसम्म गरेको छ।

उक्त सर्वेक्षण धादिङ्ग, चितवन, मकवानपुर, पाल्पा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) तथा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा गरिएको थियो। ४०० केभी दोहोरो सर्किटयुक्त प्रसारण लाइन निर्माणका लागि जग्गा प्राप्ति गर्न सम्पादन गरिने प्रारम्भिक कारवाहीको एक अंशका रूपमा रहेको उक्त सर्वेक्षण जग्गा प्राप्ति ऐन, २०३४ को दफा ६ अनुसार सूचना प्रकाशन गरिसकेपछि सञ्चालन गरिएको थियो। पाल्पा, धादिङ्ग र मकवानपुर जिल्लामा सर्वेक्षण कार्य जारी रहेको छ।


धादिङ्ग जिल्लाको बेनिघाट रोराङ्ग गाउँपालिकामा २०७९ साल चैत ६ गते जग्गाको स्थलगत सर्वेक्षण गरिँदै।

नेपाल सरकारका सर्वेक्षकहरूबाट जग्गाको स्थलगत सर्वेक्षण सम्पन्न भएपछि एमसिए–नेपालले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ८ अनुसार प्रारम्भिक प्रतिवेदन तयार गर्नेछ। उक्त प्रतिवेदन सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूलाई बुझाएपछि पुनर्वास कार्ययोजनाको अंशका रूपमा आयोजनाबाट प्रभावित व्यक्तिहरूको पहिचान तथा घरधुरी सर्वेक्षण जस्ता कार्यहरू सञ्चालन गरिनेछ।


चितवन जिल्लाको इच्छाकामना गाउँपालिकाको तोलाङमा २०७९ साल फागुन २ गते जग्गाको स्थलगत सर्वेक्षण गरिँदै।

स्थानीय कार्यालयमा प्रतिवेदन प्रस्तुत गर्नुपूर्व लक्षित जग्गा अधिग्रहणका लागि उपयुक्त छ वा छैन भन्ने पहिचान गर्नका लागि सूचना प्रकाशन गरिएको १५ दिनभित्र यस्तो सर्वेक्षण सम्पन्न गरिनुपर्ने प्रावधान जग्गा प्राप्ति ऐन, २०३४ को दफा ८ मा उल्लेख गरिएको छ।