प्रसारण लाइनका लागि जग्गा प्राप्ति

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित सबै जिल्लामा प्रसारण लाइनको टावरको जग निर्माण गर्नका लागि आवश्यक जग्गा प्राप्तिका सन्दर्भमा उल्लेख्य प्रगति गरेको छ ।

नौ वटा जिल्लामा प्राप्ति गरिने जग्गा कित्ताका पूर्ण विवरणसहितको सार्वजनिक सूचना जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार प्रकाशित गरिसकिएको छ । सूचना प्रकाशित गरिएपछि प्राप्ति गरिने जग्गाका लागि मुआब्जा सिफारिश गर्न गठन गरिएका क्षतिपूर्ति निर्धारण समितिहरूका उप–समितिहरूले नौ वटै जिल्लामा स्थलगत प्रमाणीकरण पनि सम्पन्न गरिसकेका छन् ।

पाँच जिल्लामा जग्गाको मुआब्जा दर निर्धारण
विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण टावरका जगहरू निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा दर उक्त आयोजनाबाट प्रभावित हुने पाँच वटा जिल्लामा निर्धारण गरिएको छ ।

जग्गा प्राप्ति ऐन, २०३४ को व्यवस्था अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित उक्त मुआब्जा निर्धारण समितिहरूले आवश्यक प्रक्रिया तथा अनिवार्य क्रियाकलापहरू पूरा गरी सरोकारवालाहरूसँगको परामर्श समेतको आधारमा मुआब्जा निर्धारण गरेका थिए ।

विद्युत् प्रसारण आयोजना अन्तर्गत विद्युत् प्रसारण टावरका जगहरू निर्माणका लागि आवश्यक जग्गाको मुआब्जा दर चितवन जिल्लामा २०८१ साल भदौ २८ गते, तनहुँ जिल्लामा भदौ २६ गते, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा असार २३ गते, मकवानपुर जिल्लामा वैशाख २८ गते र धादिङ जिल्लामा वैशाख १८ गते निर्धारण गरिएको हो ।

यसैगरी अन्य जिल्लामा गठन गरिएका मुआब्जा निर्धारण समितिहरूले पनि निकट भविष्यमा मुआब्जा दर निर्धारण गर्नका लागि काम गरिरहेका छन् ।

यस अघि एमसिए–नेपालले जग्गाको मूल्याङ्कन सिफारिशका लागि ती जिल्लामा मुआब्जा निर्धारण समितिहरूको मातहत सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएका उप–समितिहरूलाई स्थलगत भ्रमण गराएको थियो ।