आर्थिक अवसर सिर्जना गर्दै भिमेश्वर वहुउद्देश्यीय सहकारी लि.

नुवाकोटको रातमाटेका आयोजना प्रभावित व्यक्तिहरूको जीविकोपार्जन पुनःस्थापनाका लागि एमसिए–नेपालले तयार गरेको रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रमको एउटा मुख्य कार्य आयोजना प्रभावित परिवारहरूलाई उनीहरूका कृषि क्रियाकलाप र आयमूलक व्यवसायमा सहयोग उपलब्ध गराउन बचत तथा ऋण परिचालनका लागि सहकारी स्थापना गर्नु पनि थियो ।

एमसिए–नेपालको परामर्शदातृ संस्था सप्रोस नेपालको सहयोग र प्राविधिक मार्गनिर्देशनमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा स्थापना गरिएको भिमेश्वर बहुउद्देश्यीय सहकारी लिमिटेड २०८१ साल वैशाख २८ गते दर्ता गरिएको थियो । सहकारीका सदस्यहरूको क्षमता अभिवृद्धिका लागि लेखापालन, सहकारी व्यवस्थापन, सुशासन, बचत तथा ऋण परिचालन, वित्तीय ऋण वितरण एवं असुलीका साथै कृषि उत्पादनको बजारीकरणका लागि सम्पर्क विस्तारसम्बन्धमा प्रशिक्षण पनि प्रदान गरिएको थियो ।

उक्त सहकारीका अध्यक्ष तथा आयोजना प्रभावित व्यक्ति श्री महेश्वर न्यौपाने भन्नुहुन्छ, “सहकारीले चुनौतिहरूको सामना गर्न सामाजिक एकता तथा पुनरुत्थान क्षमता प्रवद्र्धन गर्दै सदस्यहरूबीच एकता तथा पारस्परिक सहयोगको भावना विकास गर्नेछ । यसले दिगो जीविकोपार्जन अपनाउन र दीर्घकालीन आर्थिक स्थायित्व हासिल गर्न आयोजना प्रभावित परिवारहरूलाई सशक्तीकरण गर्दै सीप विकास, ज्ञान आदानप्रदान तथा क्षमता अभिवृद्धिको मञ्चका रूपमा पनि सेवा उपलब्ध गराउनेछ ।”

सप्रोस नेपालका जीविकोपार्जन पुनःस्थापना कार्यक्रम टोली नेता श्री सञ्जु बगाले भन्नुहुन्छ, “बेलकोटगढी नगरपालिकामा सहकारी दर्ताका लागि आवश्यक विनियम नभएकोले सहकारी दर्ता गर्न केही समस्या सामना गर्नुपरेको थियो । निकै प्रयासपछि उक्त विनियम पारित गराउनुका साथै त्यसलाई अभ्यासमा ल्याउनका लागि विभिन्न प्रमुख क्रियाकलापहरू सञ्चालन गर्नेसन्दर्भमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम टोलीले नै सहजीकरण गर्नुपरेको थियो ।”

बेलकोटगढी नगरपालिकाका प्रमुख श्री जगत बहादुर गुरुङले २०८१ साल असार २० गते उक्त सहकारीको औपचारिक उद्घाटन गर्नुभएको थियो । जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सम्पन्न हुँदासम्ममा उक्त सहकारीले आफ्ना सदस्यहरूबाट एक करोड २२ लाख २८ हजार सात सय रुपियाँ सङ्कलन गरिसकेको थियो भने आफ्नै साना व्यवसाय सञ्चालन गर्न वा सञ्चालनमा रहेको व्यवसायलाई विस्तार गर्न ३४ जनालाई ऋण प्रवाह गरिसकेको थियो । ती ३४ जनामध्ये १६ जना आयोजना प्रभावित व्यक्तिहरू थिए ।

सहकारी स्थापनासम्बन्धी सफलताको कथा हेर्न तल दिइएको लिङ्कमा जानुहोला :