एमसिए–नेपालले परामर्शदातृ संस्था सप्रोस नेपालसँगको सहकार्यमा २०७८ साल चैत ४ गते कार्यान्वयन थालनी गरेको रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रम २०८१ साल जेठ १७ गते सम्पन्न गरेको छ । उक्त कार्यक्रम नुवाकोट जिल्लाको रातमाटेमा जग्गा प्राप्ति गर्दा प्रभावित भएका करिब २७० जना व्यक्तिका जीविकोपार्जन पुनःस्थापना वा सुधारका लागि सञ्चालन गरिएको थियो ।
उक्त दुई बर्से कार्यक्रम अन्तर्गत कृषि विकास क्रियाकलापहरू, सीपमूलक तालिमहरू, वित्तीय साक्षरता कार्यक्रम, लैङ्गिक तथा सामाजिक समावेशीकरण एवं जीवनोपयोगी सीपसम्बन्धी अभिमूखीकरण, प्रौढ साक्षरता तालिम, व्यावसायिक योजना विकास लगायतका विभिन्न पहलहरू सञ्चालन गर्नुका साथै एउटा बहुउद्देश्यीय सहकारी पनि स्थापना गरिएको थियो ।
रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रम अन्तर्गत व्यावसायिक तरकारी खेती, बाख्रापालन, कुखुरापालन तथा धान खेती जस्ता कृषि विकाससम्बन्धी तालिम १०६ जना आयोजना प्रभावित व्यक्तिलाई प्रदान गरिएको थियो । तालिमपछि आयोजना प्रभावित व्यक्तिहरूलाई प्रदान गरिएको परामर्श तथा प्राविधिक सहयोगका कारण उनीहरूको कृषि उत्पादकत्वमा ३०३ प्रतिशतले वृद्धि भएको थियो । यसैगरी उक्त कार्यक्रमको सीपमूलक तालिम क्रियाकलाप अन्तर्गत १८ वटा विभिन्न रोजगारीमूलक तालिममा १६३ जना आयोजना प्रभावित व्यक्ति सहभागी भएका थिए ।
आयोजना प्रभावित व्यक्तिहरूलाई वित्तीय साक्षरता, प्रौढ साक्षरता, लैङ्गिक तथा सामाजिक समावेशीकरण एवं जीवनोपयोगी सीपसम्बन्धी अभिमूखीकरण पनि प्रदान गरिएको थियो । यी प्रशिक्षणबाट आयोजना प्रभावित व्यक्तिहरू वित्तीय व्यवस्थापनमा सक्षम बन्नुका साथै बचत गर्न एवं उद्यमशील बन्न प्रोत्साहित भएका थिए । यस कार्यक्रमको पहलमा २०८० साल वैशाख २७ गते दर्ता गरिएको बेलकोटगढी नगरपालिकाकै पहिलो सहकारीले आयोजना प्रभावित व्यक्तिहरूलाई बचत तथा ऋणमा पहुँच उपलब्ध गराएको छ ।
समग्र रूपमा जीविकोपार्जन पुनःस्थापना कार्यक्रमले कृषि उत्पादकत्वमा अभिवृद्धि गरी आयस्तर तथा उन्नत रोजगारीका लागि आवश्यक सीपलाई उकासेको छ । फलस्वरूप ३४ जना आयोजना प्रभावित व्यक्तिहरूले रोजगारी पाएका छन् भने ३९ जनाले आफ्नै व्यवसाय शुरु गरेका छन् ।
एमसिए–नेपालले २०८१ साल साउन ८ गते एक कार्यक्रम आयोजना गरी रातमाटे जीविकोपार्जन पुनःस्थापना कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेकोमा परामर्शदातृ संस्था सप्रोस नेपालप्रति सराहना व्यक्त गरेको थियो ।