एमसिए–नेपालद्वारा १८ किमि सीमापार प्रसारण लाइन खण्डको बोलपत्र आव्हान

एमसिए-नेपालले १८ किलोमिटर लामो ४०० केभी क्षमताको नेपाल-भारत सीमापार प्रसारण लाइन खण्डको निर्माणलाई प्राथमिकता दिँदै खरिद कार्य अगाडि बढाउन बोलपत्र आव्हान गरेको छ। २०८० साल चैत १५ गते बोलपत्र आव्हान गरिएकोमा प्रस्ताव पेश गर्ने समयसीमा २०८१ साल जेठ ३ गते तोकिएको छ। प्रतिस्पर्द्धाबाट छानिने निर्माण व्यवसायीले उक्त प्रसारण लाइनको डिजाइन, आपूर्ति, जडान, परीक्षण र सञ्चालनको काम गर्नेछ।

एमसिए–नेपाल सञ्चालक समितिको २०८० साल फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल-गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको थियो। यस सीमापार खण्डसम्बन्धी कामलाई तीव्रता प्रदान गर्दा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौता अन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने ठहर सञ्चालक समितिले गरेको छ।

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणका लागि यस खण्डको गम्भीरतापूर्ण महत्वलाई दृष्टिगत गर्दै एमसिए-नेपाल सञ्चालक समितिले उक्त ठहर गरेको हो। यस खण्डलाई वृहत् प्रसारण लाइन सञ्जालबाट छुट्याउँदा खरिद प्रक्रिया छिटो सम्पन्न गर्न सकिने र भारतमा निर्माणाधीन प्रसारण लाइनसँग जोड्नका लागि यसको निर्माण २०८३ साल जेठभित्रै सम्पन्न हुने सुनिश्चित गर्नेछ”, एमसिए–नेपाल सञ्चालक समिति सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सह-सचिव तथा प्रवक्ता श्री नविन राज सिंहले भन्नुभयो।

यो सीमापार प्रसारण लाइन विद्युत् प्रसारण आयोजनाको महत्वपूर्ण अंश हो र यसले नेपालको आवश्यकता पूरा गर्न सीमापार विद्युत व्यापारलाई सहजीकरण गर्नेछ। नयाँ बुटवल – गोरखपुर सीमापार प्रसारण लाइन निर्माण कार्यको व्यवस्थापन गर्ने वित्तीय तथा स्वामित्व संरचनासम्बन्धमा नेपाल सरकार तथा भारत सरकारबीच २०७६ साल असोजमा सहमति भएको थियो।

बाँकी २९७ किमि प्रसारण लाइनको निर्माण निर्धारित समयावधिभित्रै सम्पन्न गर्न डिजाइन–बिल्ड निर्माण कम्पनीहरूको सेवा खरिदका लागि एमसिए–नेपालले काम अगाडि बढाइरहेको छ।