रुख गणना

एमसिए–नेपालले विद्युत् प्रसारण आयोजनाबाट प्रभावित हुने जिल्लाहरूमा रुख गणना कार्य थालनी गरेको छ। नौ जिल्लामा सामुदायिक वन उपभोक्ता समूहहरू तथा कबुलियती वन उपभोक्ता समूहहरूसँगका अन्तरक्रिया सम्पन्न गरिएपछि रुख गणना कार्यको नेतृत्व गर्नका लागि डिभिजनल तथा उप–डिभिजनल वन अधिकृतहरूलाई अभिमूखीकरण गरिएको थियो।

अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएपछि नौ वटा जिल्लामा २०८० साल साउन महिनादेखि रुख गणना कार्य थालनी गरिएको थियो। हालसम्ममा मकवानपुर, चितवन र धादिङ जिल्लामा उक्त कार्य सम्पन्न पनि भइसकेको छ।

वन क्षेत्रको विवरण अभिलेखीकरण गर्नुका साथै विद्युत् प्रसारण आयोजनाबाट प्रभावित सामुदायिक, कबुलियती तथा सरकारी वनका काट्नुपर्ने रुखको सङ्ख्या निर्धारण गर्ने उद्देश्यले यो कार्य गरिएको हो। सङ्कलित तथ्याङ्कका आधारमा एमसिए–नेपालले प्रभाव न्यूनीकरणका लागि उपयुक्त उपायहरू पहिल्याउनेछ। विद्युत् प्रसारण आयोजना सञ्चालन गरिने सम्पूर्ण जिल्लामा उक्त गणना गरिनेछ। प्रसारण लाइनका टावरको जग निर्माण गर्ने क्रममा रुख काट्नका लागि यस रुख गणना कार्यले मार्गप्रशस्त गर्नेछ।