प्रभावित समुदायहरूसँग अन्तरक्रिया कार्यक्रम

एमसिए–नेपालले प्रस्तावित प्रसारण लाइनबाट स्थानीय सांस्कृतिक सम्पदा तथा वस्तीहरूमा नकारात्मक प्रभाव नपर्ने सुनिश्चित गर्नका लागि मकवानपुर तथा तनहुँ जिल्लाका प्रभावित समुदायहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।


मकवानपुरमा २०७९ साल फागुन २९ गते सरोकारवालाहरूसँग आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम।

निर्माण गर्न लागिएको नयाँ हेटौँडा सबस्टेशन नजिकैको प्रसारण लाइन मार्गबारे छलफल गर्न २०७९ साल फागुन २९ गते मकवानपुर जिल्लाको हेटौँडामा गरिएको थियो। स्थानीय सामुदायिक अगुवाहरू, आयोजनाबाट प्रभावित स्थानीय वासिन्दाहरू तथा एमसिए–नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त अन्तरक्रिया कार्यक्रममा हेटौँडा उप–महानगरपालिकाको वडा नं. ११ का अध्यक्ष श्रीमती जुना दाहाल तथा सामुदायिक अगुवा श्री कमलचन्द्र सुमनले स्थानीय चासोहरूबारे प्रकाश पार्नुभएको थियो।


तनहुँमा २०७९ साल चैत ८ गते आयोजना गरिएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै घिरिङ्ग गाउँपालिकाका अध्यक्ष श्री होमबहादुर राना।

यसैगरी चैत ८ गते जिल्ला प्रशासन कार्यालय तनहुँमा आयोजना गरिएको कार्यक्रममा घिरिङ्ग गाउँपालिकाको अत्रौलीबाट जाने प्रसारण लाइन मार्गबारे छलफल गरिएको थियो।

तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री छविलाल रिजालको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा घिरिङ्ग गाउँपालिकाका अध्यक्ष श्री होमबहादुर राना, जिल्ला नापी कार्यालयका प्रमुख, जिल्ला मालपोत कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी, राजनैतिक अगुवाहरू, आयोजनाबाट प्रभावित अत्रौलीका वासिन्दाहरू तथा एमसिए–नेपालका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।