एमसिए–नेपालको आव २०७६/०७७ को लेखापरीक्षण सम्पन्न

काठमाडौँ, २०७८ असार २१ गते ।

नेपाल सरकारको लेखापरीक्षण ऐन, २०७५ अनुसार महालेखापरीक्षकको कार्यालयले मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसिए–नेपाल) द्वारा आर्थिक वर्ष २०७६/०७७ मा गरिएका आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेको छ ।

आर्थिक वर्ष २०७६/०७७ को विनियोजन÷राजस्व÷धरौटी÷अन्य कारोबारको आर्थिक विवरणको लेखापरीक्षण प्रतिवेदन २०७८ जेठ २० गते एमसिए–नेपाललाई प्राप्त भएको हो ।

राष्ट्रिय गौरवको आयोजना विद्युत् प्रसारण आयोजना र सडक मर्मत आयोजनाका लागि अमेरिकी सरकारको मिलेनियम च्यालेञ्ज कर्पाेरेशनबाट प्राप्त अनुदान ५० करोड अमेरिकी डलर र नेपाल सरकारको लगानी १३ करोड अमेरिकी डलर अन्तर्गत गत आर्थिक वर्षमा भएका आयव्यय हिसाबको लेखापरीक्षण गरिएको हो ।

ती दुई आयोजनाको सञ्चालन र व्यवस्थापनका लागि नेपाल सरकारले विकास समिति ऐन, २०१३ अनुसार विसं २०७५ वैशाख ५ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी एमसिए–नेपाल गठन गरेको हो ।

एमसिए–नेपालको स्थापनाकाल (आ.व. २०७४/७५ देखि नै महालेखापरीक्षकको कार्यालयबाट यस कार्यालयको लेखापरीक्षण हुँदै आएको छ ।

एमसीसी कम्प्याक्ट नेपालको दफा ३.८ (क) मा महालेखापरीक्षकको एमसिए–नेपालको लेखापरीक्षण गर्नेसम्बन्धी व्यवस्था गरिएको छ । यसैगरी लेखापरीक्षण नियमित रूपमा गरिनुपर्ने आवश्यकता मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (गठन) आदेश–२०७४ को दफा ११ ले पनि सिर्जना गरेको छ ।

महालेखापरीक्षकको कार्यालयद्वारा विभिन्न वर्षमा नियमित रूपमा लेखापरीक्षण गरी प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरिएकासम्बन्धी पत्रहरू तल प्रस्तुत गरिएको छ ।