वातावरणीय तथा सामाजिक सुरक्षा

एमसिए–नेपालले सशक्त वातावरणीय तथा सामाजिक सुरक्षाका उपायहरू अपनाएको छ । यसले विद्युत् प्रसारण आयोजना तथा सडक मर्मत आयोजना दुवैको कार्यान्वयनका क्रममा वातावरणीय तथा सामाजिक मापदण्डसम्बन्धी राष्ट्रिय नीति तथा कानुनहरूको पूर्ण पालना गर्दै पहिचान, विश्लेषण एवं न्यूनीकरणसम्बन्धी व्यापक पहलहरू गरेको छ । एमसिए–नेपालका यी योजना अन्तर्गत आयोजनाहरूका लागि सुझाव तथा सहयोग प्राप्त गर्नका लागि सरोकारवालाहरूको नियमित संलग्नतालाई सुनिश्चित गर्नेछ ।

एमसीसी वातावरणीय मार्गनिर्देशिका (२०१०) अनुरूप विद्युत् प्रसारण आयोजनालाई ‘क’ वर्गको आयोजनाका रूपमा वर्गीकरण गरिएको छ । यसको अर्थ के पनि हो भने एमसीसी वातावरणीय मार्गनिर्देशिकामा सन्दर्भका रूपमा अङ्गीकार गरिएको अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी) का आठ वटामध्ये सात वटा कार्यसम्पादन मापदण्डहरू एमसिए–नेपालका आयोजनाहरूमा लागू हुनेछन् । विद्युत् प्रसारण आयोजना कार्यान्वयनका क्रममा रुख कटानी, जग्गा अधिग्रहण तथा पुनर्वास जस्ता छल्नै नसकिने केही वातावरणीय तथा सामाजिक प्रभावहरू सिर्जना हुनेछन् । विस्तृत वातावरणीय तथा सामाजिक मूल्याङ्कन गरिसकेपछि एमसिए–नेपालले न्यूनतम वातावरणीय तथा सामाजिक प्रभाव सुनिश्चित गर्न तथा सरोकारवालाहरूसँगको परामर्शमा सान्दर्भिक क्षतिपूर्ति, न्यूनीकरण वा व्यवस्थापनसम्बन्धी पहिचान गरिएका सम्पूर्ण जोखिमलाई सम्बोधन गर्नका लागि केही उपाय अपनाएको छ ।

एमसीसी वातावरणीय मार्गनिर्देशिका (२०१०) अनुरूप सडक मर्मत आयोजनालाई ‘ख’ वर्गको आयोजनाका रूपमा वर्गीकरण गरिएको छ । यस वर्गमा परेका आयोजनाका प्रस्तावित क्रियाकलापबाट सीमित मात्रामा मात्र नकारात्मक वातावरणीय वा सामाजिक जोखिम सिर्जना हुने सम्भावना हुन्छ वा प्रभाव कम पर्छ । यिनीहरूबाट पर्ने प्रभाव निश्चित क्षेत्रमा सीमित, प्रायः सुधार गर्न सकिने तथा न्यूनीकरण पहलबाट तत्काल सम्बोधन गर्न सकिने खालका हुन्छन् । निर्माण क्रियाकलापका कारण सिर्जना हुने अस्थायी सडक अवरोध, उत्खनन् तथा उत्खनन् गर्दा बन्ने खाडल, ध्वनि, धूलो तथा कामदार एवं सामुदायिक स्वास्थ्य एवं सुरक्षा जस्ता वातावरणीय वा सामाजिक प्रभावहरूलाई सङ्क्षिप्त वातावरणीय तथा सामाजिक प्रभाव मूल्याङ्कनबाट प्राप्त जानकारीमा आधारित वातावरणीय तथा सामाजिक प्रभावलाई सम्बोधन गरिनेछ ।